Sagun Khabar
बैतडीका सरकारी कार्यालयहरुले आलोपालो सेवा दिँदै 

बैतडी –बैतडीमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारी कार्यालयहरुले आलोपालो सेवा दिन थालेका छन् । भीडभाड नहोस भनेर पालिकाका नागरिकलाई बार अनुसार सेवा दिने गरिएको कार्यालयले जनाएका छन् । 

जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि आलोपालो सेवा दिने कार्य शुरु गरिसकेको छ भने अन्य कार्यालयहरुले पनि सोही अनुसार सेवा दिन थालेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

कोरोना संक्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरण र रोकथामका लागि आलोपालो सेवा दिने कार्य शुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

जिल्ला प्रशासन कार्यालयका साथै मालपोत कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले पनि सूचना निकालेर आलोपालो सेवा दिन थालेका हुन् । 

सेवा लिने क्रममा भीडभाडकै कारण संक्रमणको जोखिम नहोस भनेर पालिकाका नागरिकलाई बार अनुसार सेवा दिने गरिएको मालापोत कार्यालय बैतडीका प्रमुख दिलाराम भट्टले बताए । 

यस्तै कार्यालयहरुले सार्वजनिक सेवा लिँदा कोरोना विरुद्ध खोप लगाएको कार्ड पनि अनिवार्य गरेका छन् । खोपमा नागरिकको पहुँच बढाउनका लागि खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए । उनले भने ‘खोप नलगाएका नागरिकको खोपमा पहुँच होस भनेर हामीले सार्वजनिक सेवा लिँदा खोप कार्ड अनिवार्य गरेका हौं । खोप नलगाएकाहरुलाई अहिले पनि नजिकैका खोप केन्द्रहरुमा खोप लगाउने कार्य जारी रहेको छ ।’

जिल्लामा अहिले १२४ भन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् । दैनिक संक्रमणदर बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update