Sagun Khabar
विद्यालय बन्द भएपछि बालबालिका गोठालो र मेलापातमै व्यस्त, पढाईको स्तर खस्किदै 

बैतडी – कोरोना कहरका कारण विद्यालय बन्द भएपछि बैतडीका बालबालिकाहरु गोठालो र मेलापातमै व्यस्त हुन थालेका छन् । शिक्षण सिकाईका वैकल्पिक उपायहरु समेत नअपनाउँदा बालबालिकाहरुको शैक्षिक स्तर पनि खस्किदै गएको छ । 

विद्यालयको पढाईमै निर्भर रहेका बालबालिकाहरु विद्यालय बन्द भएपछि गोठालो जाने र घरको अन्य काममै लाग्ने गरेको सुर्नया ४ का प्रताप महराले बताए । उनले भने ‘विद्यालय बन्द हुँदा बालबालिकाहरुको पठनपाठन ठप्प भएको छ । बालबालिकाहरुको पढाईको स्तर खस्कदै गएको छ ।’

पहाडी क्षेत्रहरुमा शिक्षण सिकाईका वैकल्पिक उपायहरु प्रभावकारी नहुँदा गएको दुई बर्ष यता बालबालिकाहरुको पढाईमा नकारात्मक असर पर्दै गएको अभिभावकहरुले समेत बताएका छन् । अधिकांश ठाउँमा इन्टरनेटको समेत पहुँच नहुँदा समस्या भएको अभिभावकहरुको भनाई छ । 

Atrya hospital

स्थानीय तहहरुले पनि टोल शिक्षणको अवधारणा अगाडि बढाउन सकेका छैनन् । यसले गर्दा विद्यार्थीहरु पढाईमा कमजोर हुँदै गएका छन् । कोराना कहरका बेला विद्यालय बन्द हुँदा बालबालिकाहरुको पढाईमा परेको असर भविष्यमा समेत देखिने शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन् । लामो समयदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको पठनपाठनमा नकारात्मक असर परेको ज्ञानेश्वर नमूना माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । उनले भने ‘हाम्रो जस्तो क्षेत्रमा भौतिक उपस्थितीमा पढाई नहुँदा सम्म अरु विकल्पहरु त्यति प्रभावकारी देखिएका छैनन् । विद्यालय बन्द हुँदा बालबालिकाहरुको पढाईको स्तर खस्किदै गएको छ ।’

बैतडीमा ५ सय ४० ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । कतिपय ठाउँमा इन्टरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । अनलाइन चल्न सक्ने ठाउँमा पहिलो विकल्पका रुपमा अनलाइन कक्षा सञ्चालन गर्ने र नभएको ठाउँमा टोल कक्षा लगायतका विकल्पहरु पनि सोच्न सकिने उनले बताए । उनले भने ‘कोरोना महामारीबाट बच्नु आवश्यक छ । त्यसपछि शिक्षण सिकाई क्रियाकलाप कसरी अघि बढाउने भन्ने बिषयमा पनि सोच्नुपर्छ ।’

शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन पालिकाहरुले पनि आफ्नो ठाउँ र परिवेश अनुसार योजना बनाउन सक्ने इकाइ प्रमुख अवस्थीले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update