Sagun Khabar
कोभीड नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न बैतडी प्रशासनको आग्रह 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले कोभीड संक्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णयहरु कार्यान्वयन गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले विभिन्न सरकारी निकाय तथा स्थानीय सरकारहरुलाई पत्र लेख्दै कोभीड संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिश र संघीय सरकारबाट निर्देशन भएका निर्णयहरु कार्यान्वयन गर्न आग्रह गरिएको हो । 

माघ १६ गतेको गृहमन्त्रालयको सचिवस्तरीय निर्णय कार्यान्वयनका लागि प्रशासनले आग्रह गरेको हो । सो निर्णय अनुसार माघ मसान्त सम्म भौतिक उपस्थितीमा विद्यालय, कलेजहरु सञ्चालन गर्न पाइनेछैन् । 

यस्तै विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषाका परीक्षा, चिकित्सा शिक्षाका सबै प्रयोगात्मक परीक्षाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । 

यस्तै खोप कार्यक्रमलाई जिल्लाभरी अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयहरुमा सञ्चालन भईरहेको खोप अभियानलाई प्रभावकारी बनाउन प्रशासनले आग्रह समेत गरेको छ । जिल्लामा खोपको उपलब्धता र प्राथमिकताका आधारमा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update