Sagun Khabar
राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियानमा सहयोग गर्न आग्रह 

बैतडी – बैतडीमा राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान शुरु भएको छ । आइतबारदेखि जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाबाट अभियान शुरु भईसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

राष्ट्रिय परिचय पत्र विवरण संकलनका लागि वडामा पुगेको विवरण दर्ता अपेरटहरुलाई सहयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ । राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले परिचयपत्र बनाउन आफ्नो वडामा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । 

राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ । यसैगरी बसाईसराई गरेको भए सो प्रमाणपत्र,राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ । 

जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम अघि बढ्ने सूचना अधिकारी भारतीले बताए । अहिले दुई पालिकामा ३५ जना दर्ता अपरेटर खटाइएका छन् । दुई पालिकामा विवरण संकलन अभियान सकिएपछि अन्य पालिकाहरुमा अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update