Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेटको उपाधि दनपा २ लाई 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाण्डौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । यो संगै दनपा २ उपमेयर कपमा तेस्रोपटक च्याम्पियन भएको छ । उसले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि पनि हात पारेको थियो ।

उपाधिसंगै दनपा २ ले ४५ हजार र उपविजेता दनपा ६ ३० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

आज सम्पन्न फाइनलमा निङ्गलाशैनी खेल मैदानमा दनपा २ ले दिएको १४० रनको लक्ष्य पछ्याएको दनपा ६ ले १६.४ ओभर खेली ६० रनमा समेटियो । दनपा ६ की ललिता चन्दले २१ र पुजा कार्कीले १० रन बनाउनबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दनपा २ की निर्मला बोहराले ३ र वबिता बोहराले २ विकेट लिइन् ।

Atrya hospital

त्यसअघि घरेलु मैदानमा पहिला ब्याटिंग गरेको दनपा २ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३९ रन बनायो । जसमा पिंकी बोहराले नटआउट ५९ रन बनाईन् । दनपा ६ की  पुजा कार्की र सन्जु पेलाले २÷२ विकेट हात पारिन् । दनपा २ की पिंकी बोहरा वोमन अफ द फाइनल भएकी स्कोरर द्रोपती कुँवर बोहराले जानकारी दिइन् ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १२ विकेट र ७० रन बनाएकी दनपा २ की बविता बोहरा वोमन अफ द सिरिज भईन् । यस्तै १२४ रन हिर्काएकी दनपा २ की मनिषा बोहरा बेस्ट ब्याट्सओमन र १२ विकेट लिएकी त्रिपुराकी जानबी मौनी बेस्ट बलर चुनिइन् ।

विजेता र उपविजेता खेलाडीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, दनपा २ का वडाध्यक्ष रनबहादुर बोहरा, जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार दिए ।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट गर्दै आएको नगरक्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा चैत ५ गतेदेखि शुरु भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ०२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update