Sagun Khabar
बैतडीको सिगास गाउँपालिका अध्यक्ष धामी विरुद्ध प्रहरीमा उजुरी 

बैतडी –एक महिलालाई अश्लिल गाली गरेको आरोप लागेका बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई कारवाहीको माग गर्दै प्रहरीमा ठाडो उजुरी परेको छ । सिगास गाउँपालिका ९ की लक्ष्मी शाह चन्दले धामीलाई आवश्यक कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएकी हुन् । 

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष धामीले कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मी शाह चन्दलाई अश्लिल गालीगलौज गरेको अडियो बाहिरिएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदकी आकांक्षी समेत रहेकी चन्दलाई धामीले अश्लिल गाली गरेका थिए । 

आफ्नो पारिवारिक जीवनमै आँच आउने गरेर अध्यक्ष धामीले गालीगलौज गरेकाले प्रहरीमा ठाडो उजुरी दिएको चन्दले बताइन् । उनले भनिन् ‘ म माथि भएको गालीगलौजको आवश्यक अनुसन्धान गरिदिन मैले प्रहरीमा उजुरी दिएकी छु ।’

गाउँपालिका अध्यक्ष धामीविरुद्ध प्रहरीमा ठाडो निवेदन परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले पुष्टि गरे । निवेदन परेकाले अध्यक्षलाई भोलि छलफलका लागि बोलाएको उनले बताए । उनले भने ‘गालीगलौज गरेको बिषयमा हामी कहाँ ठाडो उजुरी परेको छ । छलफलका लागि हामीले बोलाएका छौं । मुद्दा दर्ता गर्ने भए अदालत जान पीडित महिलालाई सुझाएका छौं ।’

यसअघि नेपाली कांग्रेसले समेत अध्यक्ष धामीलाई सातदिन भित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनको बिषयमा अध्यक्ष धामीले फोनबाट चन्दलाई गाली गरेको अडियो अहिले भाइरल भएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिले अश्लिल शब्द प्रयोग गरेको भन्दै अध्यक्ष धामीको आलोचना समेत भईरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update