Sagun Khabar
माओवादीका सुर्नया सहइन्चार्ज भाटद्वारा पार्टी परित्याग, गरे एमालेमा प्रवेश 

बैतडी –स्थानीय तहको निर्वाचनको मुखमै नेकपा माओवादी केन्द्रका सुर्नया सह–इन्चार्ज नरी भाटले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य समेत रहेका भाट माओवादी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । 

पार्टीमा नातावाद, कृपावाद र परिवारवाद हाबी भएको आरोप लगाउँदै भाटले पार्टी छोडेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका भाट यो पालीको चुनावमा पनि उम्मेदवारका आकांक्षी रहेका थिए । उनले भने ‘म आवद्ध रहेको माओवादी केन्द्रमा नातावाद र परिवारवाद हाबी भएकाले मैले पार्टी छोडेको हुँ । अहिले म नेकपा एमालेमा प्रवेश गरेको छु ।’

सुर्नयामा माओवादीले एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेर अध्यक्ष पद समाजवादी र उपाध्यक्ष आफूले लिने सहमति गरेको थियो । सोही सहमति अनुसार शुरुमा माओवादी केन्द्रले सुर्नया इन्चार्ज स्वेता भट्टलाई उपाध्यक्षको उम्मेदवार बनाएको भएपनि अन्तिममा आएर दिलाराम भट्टलाई उम्मेदवार बनाएको थियो । 

स्वेतालाई उम्मेदवार बनाएकै बेलादेखि रुष्ट भएका भाटले बिहीबार एमालेमा प्रवेश गरेका हुन् । सुर्नयाको सतबाँझमा आयोजना गरिएको कार्यक्रममा भाटलाई एमालेका केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टले पार्टीमा प्रवेश गराएका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update