
बैतडी –स्थानीय तहको निर्वाचन नजिक आएपनि बैतडीमा मतदाता शिक्षा सञ्चालन हुन सकेको छैन् । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने बिषयमा मतदाताहरु अलमलमा परेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने कुरा थाहा नपाएको सुर्नया ६ का नन्दराम अवस्थीले बताए । उनले भने ‘चुनाव नजिक आईसकेको छ । तर मतदान कसरी गर्ने भन्ने थाहा छैन् ।’
मतदानका बिषयमा आफूहरुलाई अझै अन्योल रहेको दोगडाकेदारकी सीता चन्दले बताइन् । उनले भनिन् ‘चुनाव आयो सबैले भनिरहेका छन् । तर मतदान कसरी गर्ने भनेर सिकाउने कोही आएका छैनन् ।’
मतदाता शिक्षाको अभावमा भोट कसरी हाल्ने भन्ने अन्यौलमा रहेका मतदाताका यि उदाहरण मात्रै हुन् । जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा धेरै मतदाता अन्यौलमा परेका छन् । स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्यौल हुन सक्ने जानकारहरुले बताएका छन् ।
निर्वाचन आयोगले अहिले गाउँगाउँमा मतदाता शिक्षाको कार्यक्रम सञ्चालन नगरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फँुयालले बताए । आयोगले यसअघिका निर्वाचनहरुमा मतदाता शिक्षा व्यापक रुपमा सञ्चालन गरेकाले गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन नगरेको उनले दाबी गरे ।
स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘गाउँमा मतदाता शिक्षा दिन सकिएन् बदर मतको संख्या बढ्न सक्छ ।मतपत्रमा पनि लामो भएकाले मतदातालाई अलमल हुन सक्छ ।’
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमै एक दुई दिन मतदानका बिषयमा जानकारी दिन सक्ने फँुयालले बताए ।
यस्तै बदर मतको संख्या कम गराउन राजनीतिक दलहरुले पनि अग्रसर हुनुपर्ने निर्वाचन कार्यालयका प्रमुख फुयालले जोड दिए । उनले भने ‘मतदाताहरुलाई मतदाता शिक्षाका बिषयमा जानकारी दिनु राजनीतिक दलहरुको पनि कर्तव्य हुन आउँछ । उनीहरुका नेता कार्यकर्ताहरुले मतदान गर्ने तरीका बारेमा सिकाउन सक्छन् ।’
बैतडीमा गत स्थानीय तहको निर्वाचनमा झण्डै ५ प्रतिशत मत बदर भएको थियो । यो पालीको चुनावमा पनि लामो पत्र भएकाले मत बदर हुने सम्भावना रही आएको छ । यस्तै दलहरुले चुनावी गठबन्धन गरेकाले पनि बदर मतको संख्या बढ्न सक्ने आँकलन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा १५ ओटा दल दर्ता भएपनि निर्वाचनमा भने ५ ओटा दलले मात्रै भाग लिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बैतडीमा १ लाख ४८ हजार ६०६ मतदाता रहेका छन् ।