बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ पितलथलास्थित गुरुखोला स्वास्थ्यचौकीलाई कम्यपुटर हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालको सहयोगमा स्वास्थ्यचौकीलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।
किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा सूचीकृत गुरुखोला स्वास्थ्यचौकीलाई रिपोर्टिङ कार्यमा सहज होस भनेर कम्प्युटर हस्तान्तरण गरिएको आड्रा नेपालका कार्यक्रम संयोजक राजीव यादवले बताए । यसअघि पनि सो स्वास्थ्य संस्थालाई विभिन्न सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक यादवले बताए ।
किशोरकिशोरीहरुलाई स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्देश्यले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था बनाइएको गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टले बताए । स्वास्थ्य संस्थालाई कम्प्युटर प्राप्त भएपछि अब तथ्यांक दर्ता गर्न र अन्य रिपोर्टिङ गर्नका लागि सहज हुने स्वास्थ्यचौकी प्रमुख भट्टले बताए ।
गुरुखोला स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री भएपछि आफूहरुलाई सेवा लिन सजिलो भएको स्थानीय किशोर उमेश बडुले बताए । आफूहरुका स्वास्थ्य समस्याका बारेमा कुराकानी गर्न अलगै कक्षको व्यवस्थापन भएकाले आफूहरुलाई सहज भएको उनले बताए ।




