बैतडी- जिल्ला समन्वय समिति बैतडीको नव निर्वाचित कार्य समितिले भवनको निर्माण कार्यलाइ तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।
समन्वय समिति प्रमुख खगेन्द्र धामीको अध्यक्षतमा बसेको पहिलो बैठकले निर्माणाधीन अवस्थामा रहेको जिल्ला समन्वय समितिको भवनको निर्माण कार्यलाइ तिब्रता दिने निर्णय गरेको बताइएको छ । अलपत्र परेको भवनको निर्माण कार्यलाइ अगाडी बढाउन उपप्रमुख दमन कुवँरको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको समन्वय समितीका सदस्य प्रेम सिंह भाटले जानकारी दिए ।
यस्तै हरेक महिनाको ५ गते समन्वय समितिको बैठक बस्ने, जिल्लामा रहेका १० वटै पालिकाहरु, प्रदेश सरकार र संघीय सरकार संग समन्वय गरेर अनुगमन कार्यलाइ अगाडी बढाउने पनि बैठकले निर्णय गरेको उनले बताए । जिल्ला समन्वय समिति बैतडीको नयाँ नेतृत्व छानीएको छ ।मंगलबार भएको निर्वाचनबाट जिल्ला समुन्वय समितिको नयाँ नेतृत्व छानिएको हो ।
नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो । जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी र उपप्रमुखमा माओवादीका दमन कुवर विजयी भएका छन् । यस्तै समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।




