Sagun Khabar
बैतडीमा पूर्ण खोप सुनिश्चित गर्न घरधुरी सर्वेक्षण 
फोटो : बैतडीको सुर्नयामा घरघुरी सर्वेक्षण गर्दै स्वास्थ्यकर्मी

बैतडी –पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण थालिएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लगाए÷नलगाएको बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भईरहेको उनले बताए । १० ओटा स्थानीय तहका तीन÷तीन वडामा घरधुरी सर्वेक्षण भईरहेको छ । एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण भईरहेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरी घरधुरी सर्वेक्षण कार्य थालिएको हो । 

स्वास्थ्यकर्मी, पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, रेडक्रसकर्मी लगायतको सहभागितामा पूर्ण खोप सुनिश्चित गर्न घरधुरी सर्वेक्षण भईरहेको छ । 

बैतडी जिल्ला २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला भईसकेकाले प्रत्येक बर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ । १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको बारेमा सर्वेक्षण भईरहेको हो । खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ । 

जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध १२ खोप दिने गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update