बैतडी –बैतडीको सिगास गाउँपालिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न निकै समस्या हुने गरेको छ । तीन दिनको पैदल दुरी हिँडेर बैंक पुग्दा समेत भत्ता पाउन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं २ गाँजरीस्थित कृषि विकास बैंकमा टाढाबाट भत्ता बुझ्न आउँदा निकै समस्या हुने गरेको स्थानीय कले लुहारले बताए । बुधबार घरबाट हिँडेका कले शुक्रबार बैंकमा पुगेपनि पालो नआउँदा उनी रित्तो हात घर फर्किन बाध्य भए । उनले भने ‘भत्ता बुझ्नका लागि तीन दिन लगाएर बैंक पुगे । तर शुक्रबारको दिन पालो नपुगेपछि रित्तो हात घर फर्के । शुक्रबारपछि लगातार बिदा परेकाले घर फर्किनु पर्यो ।’
नेपाल सरकारले बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता बुझ्ने नियम बनाएपछि दुर्गम क्षेत्रका नागरिकलाई निकै समस्या भएको छ । बैंकको पहुँच भन्दा टाढा रहेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या हुने गरेको सिगासका अर्का स्थानीय महा लुहारले बताए । उनले भने ‘सामाजिक सुरक्षा भत्ता बुझ्न धेरै समस्या हुने गरेको छ । बैंकमा भीडभाड हुँदा पालो नै पुग्दैन् ।’
बैंक टाढा हुँदा सिगास गाउँपालिका वडा नं ५,६,७,८ र ९ का स्थानीयहरुलाई निकै समस्या रहेको छ । बैंकमै पुग्न दुई÷तीन लाग्ने र बैंकमा पुगेपनि समयमा काम नहुँदा समस्या हुने गरेको स्थानीय कालु लुहारले बताए ।
सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता बुझ्न समास्या भइरहेको छ । तीनदेखि चार महिनाको भत्ता एकैपटक निकासा हुँदा भत्ता बुझ्न बैंकहरूमा भिड लाग्ने गरेको छ ।
दुर्गममा शाखा खोलेर सेवा दिँदै आएका बैंकहरुका पनि आफ्नै समस्या रहेका छन् । दुर्गममा बिजुलीबत्ती नहुँदा सोलारको भरमा कम्प्युटर, इन्टरनेट चलाएर सेवा दिनुपरीरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउँदले बताए । घाम नलागेको बेला सोलारले समेत काम नगर्दा झन् समस्या हुने गरेको उनले बताए ।




