बैतडी –बैतडीमा जन्म मिति बढाएर वृद्ध भत्ता लिने गरेको खुलासा भएको छ । नागरिकता प्रमाणपत्रमा आँफै जन्ममिति बढाएर भत्ता लिएको खुलेको हो । आँफैले जन्ममिति बढाएर भत्ता लिने दुई गाउँपालिकाका १४ जना भेटिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
अहिले सम्म डिलाशैनी गाउँपालिकाका १३ जना र दोगडाकेदार एक जनाले जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको हो । यसरी जन्ममिति बढाएर भत्ता बुझ्नेहरुलाई कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आएको उजुरी र नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन जिल्ला प्रशासन पुगेकाहरुबाट यस्तो कार्य खुल्न आएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि वडा÷वडामा टोली पुगेको र नागरिकता केरमेट भएकाहरुलाई प्रतिलिपि लिन पठाउँदा यस्तो कुरा खुल्न आएको सूचना अधिकारी भारतीले बताए ।
जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुबाट दोब्बर असुल उपर गर्नुका साथै नागरिकता ऐन २०६३ अनुसार पनि कारवाही गरिने भारतीले बताए । उनले भने ‘हामीले जिल्ला प्रशासनमा आएकाहरुको नागरिकता केरमेट भएको पायौं । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा रहेको ढड्डा भिडान गर्दा जन्ममिति आँफैले सच्याएको पाइयो । अहिलेका लागि १४ जना यस्ता फेला परेका छन् । अन्य ठाउँमा पनि हामी अनुसन्धान गरिरहेका छौं ।’
नागरिकतामा जन्ममिति बढाएर कम्तीमा ३ बर्ष र बढीमा २७ बर्ष पहिलादेखि सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको सूचना अधिकारी भारतीले बताए ।




