Sagun Khabar
बैतडीको सुर्नया पूर्ण  खोप सुनिश्चित घोषणा 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । राष्ट्रिय खोप तालिका अनुसार २ बर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । पालिकाभित्र रहेका खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाइसकेको पाइएकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाभरी जन्मेदेखि १५ महिना सम्मका ५ सय २ र १६ देखि २३ महिना सम्मका ३ सय ३३ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइसकेको महराले बताए । 

बैतडी जिल्ला २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसको निरन्तरताका लागि प्रत्येक बर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको महराले बताए । बालबालिकाहरुले तालिका अनुसार खोप लगाए ÷नलगाएको बारेमा घरधुरी सर्वेक्षण गरेर पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको उनले बताए । 

पालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, उपाध्यक्ष मञ्जु बोहरा, वडा अध्यक्ष लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

जन्मेदेखि २ बर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध १२ प्रकारका खोप दिन गरिएको छ । 
पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले बालबालिकाहरुको स्वास्थ्यमा पालिकाले बिशेष ध्यान दिने बताए । यस्तै उपाध्यक्ष मञ्जु बोहराले बालबालिकाहरुको स्वस्थ भए दक्ष नागरिक बन्ने भन्दै पालिकाका तर्फबाट स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्ने बताइन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update