बैतडी –बैतडीका स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न थालिएको छ । बैतडीलाई २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेपछि प्रत्येक बर्ष पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार खोप पाउनुपर्ने बालबालिकाहरुले खोप पाए ÷नपाएको बारेमा सुनिश्चित गरेर पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको हो ।
बैतडीको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ भने अन्य पालिकाहरुलाई पनि पूर्ण खोप सुनिश्चित घोषणाको तयारी भईरहेको छ ।
जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणाका लागि अहिले घरधुरी सर्वेक्षण भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लाका १० ओटै स्थानीय तहमा नमूना घरधुरी सर्वेक्षण भईरहेको उनले बताए ।
जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाए÷नलगाएको बारेमा जानकारी लिनका लागि घरधुरी सर्वेक्षण भईरहेको उनले बताए ।
घरधुरी सर्वेक्षणको काम सकिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने स्वास्थ्य प्रमुख भट्टले बताए ।




