बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न निकै गाह्रो भएको छ । नेपाल सरकारले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता निकासा गर्न थालेपछि स्थानीयहरुलाई समस्या हुन थालेको हो ।
नगरपालिकाको केन्द्रमा हाटस्थित बैंकमा पुग्न निकै समस्या हुने गरेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि घण्टौं पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रही आएको स्थानीयहरुले बताएका छन् । सामाजिक सुरक्षा भत्ता बैंकबाटै बुझ्नका लागि जेष्ठ नागरिकलाई बैंक सम्म पुग्न निकै सकस हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए । उनले भने ‘नागरिकको यो समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ । भत्ता बुझ्नैकै लागि नागरिकलाई धेरै समस्या भएको छ ।’
सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक पुग्न निकै समस्या हुने गरेको नगरबासीले गुनासो गरेका छन् । वडा नं २, ३, ९, ६ का स्थानीयहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि समस्या हुने गरेको स्थानीयहरुको भनाई छ ।
नगरपालिकाले वडा वडामै सामाजिक सुरक्षा भत्ता वितरणका बिषयमा छलफल भईरहेको जनाएको छ । अहिले फागुनमै पाइने भत्ता वितरण भईरहेको र अब नगरपालिकाले बैंकसंग सहकार्य गरेर वडामै कसरी जान सकिन्छ भन्ने बिषयमा छलफल गर्ने पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।




