Sagun Khabar
बालविवाह रोक्ने अभियानमा बैतडीका अभिभावक 

बैतडी –बैतडीका विभिन्न स्थानका अभिभावकहरु बालविवाह न्यूनीकरण अभियानमा सक्रिय भएका छन् । बालविवाहले आफ्ना छोराछोरीहरुको जीवनमा समस्या पार्ने भएकाले अभिभावकहरु यो अभियानमा सक्रिय भएका हुन् । 

सानो उमेरमै छोरीको विवाह गर्नुपर्छ भन्ने गलत चलनको अन्त्य भएको पाटन नगरपालिका ४ की धाना भट्टले बताइन् । उनले भनिन् ‘बालविवाहले छोराछोरीको भविष्यमा संकट ल्याउँछ । त्यसैले छोराछोरीको विवाह २० बर्षपछि मात्रै गर्ने योजना बनाएकी छु ।’

सानो उमेरमा विवाह गर्नुभन्दा उनीहरुको शिक्षामा लगानि गरेर भविष्य निर्माण हुने भएकाले आफूहरु अहिले बालविवाह अन्त्यको अभियानमा लागेको पाटन नगरपालिका ४ का नरेन्द्र महराले बताए । उनले भने ‘शिक्षा ग्रहण गर्ने उमेरमा विवाह होइन् उनीहरुलाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना सबैमा जागिसकेको छ । अहिले धेरै जसोले २० बर्ष पछि मात्रै छोराछोरीको विवाह गर्ने गरेका छन् ।’

जिल्लाका धेरै जसो स्थानमा किशोरकिशोरी समूह गठन भएका र ती समूहमा आवद्ध किशोरकिशोरीका अभिभावकहरुले बालविवाहले पार्ने असरका बारेमा थाहा पाईसकेका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

बालविवाहले पार्ने असर र यसका बेफाइदाका बारेमा अभिभावक सचेत भएकाले आजभोली बालविवाह न्यूनीकरण भएको पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्टले बताए । उनले भने ‘बालविवाह गैरकानुनी कार्य हो भन्ने बिषयमा धेरैले थाहा पाईसकेका छन् । त्यसैले अहिले समाजमा बालविवाह कम भईरहेको छ । यसको अन्त्यका लागि समाजका सबै पक्ष लाग्नु जरुरी छ ।’

बालविवाह न्यूनीकरणका लागि अहिले जिल्लाका विभिन्न स्थानीय तहमा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको पीसवीन नेपालका लेखा सहायक दिनेशप्रसाद जोशीले बताए । किशोरकिशोरी समूह गठन भएका ठाउँका अभिभावकहरुलाई समेत यसका बारेमा जानकारी दिन थालिएको उनले बताए । 

यसैबीच अभिभावकहरुका लागि बालविवाह अन्त्य सम्बन्धि तीनदिने तालिम शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा पीसवीन नेपालले बैतडीमा अभिभावकहरुलाई तालिम दिन थालेको हो । 

जिल्लाका विभिन्न स्थानीय तहका अभिभावकहरुलाई बालविवाह अन्त्यका बिषयमा तालिम दिने कार्य शुरु भएको पीसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले बताए । अहिले पाटन नगरपालिकामा तालिम सञ्चालन भईरहेको र निकट भविष्यमै अन्य स्थानीय तहमा पनि तालिम सञ्चालन हुने उनले बताए । 

बालविवाह अन्त्यका लागि अभिभावकहरुलाई तालिम दिनु निकै सकारात्मक काम भएको भुमेश्वर मावि ठाँडका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update