Sagun Khabar
बैतडीको सुर्नयामा नागरिक आरोग्य केन्द्र स्थापना 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ । सुर्नया गाउँपालिका वडा नं ६ कोखेत खालीडाँडास्थित लोकेश स्मृति भवनमा नागरिक आरोग्य केन्द्र स्थापना भएको हो । 

प्रदेश सरकार मातहत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य केन्द्र स्थापना गरेको हो । स्थानीय नागरिकहरुको आयुर्वेदिक उपचारमा पहुँच पुर्याउनका लागि नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले जानकारी दिए । 

नागरिक आरोग्य केन्द्रबाट औषधोपचार, योग,पूर्वकर्म, पञ्चकर्म लगायतका सेवाहरु प्रदान गरिने बताइएको छ । अहिले लागि केन्द्रमा एकजना वैद्य र एकजना कार्यालय सहयोगी कर्मचारी राखिएको उनले बताए । 

नागरिक आरोग्य केन्द्रको सोमबार एक कार्यक्रमकाबीच उद्दघाटन समेत गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख हिक्मतबहादुर चन्दको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा बिशिष्ट अतिथी रहेका थिए । 

आरोग्य केन्द्र उद्दघाटन कार्यक्रममा सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थी, वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहरा लगायतको सहभागिता रहेको थियो । 

आरोग्य केन्द्र स्थापना भएपछि नागरिकहरुको आयुर्वेद उपचार पद्दतिमा पहुँच पुग्ने विश्वास गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update