बैतडी –बैतडीमा आयुर्वेद उपचारमा नागरिकको पहुँच बढ्दै गएको छ । आयुर्वेद उपचारको प्रति असर नहुने भएकाले यसमा नागरिकको आकर्षण समेत बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए ।
जिल्लाका दुई ठाउँमा आयुर्वेद औषधालय सञ्चालनमा रहेका छन् भने तीन ठाउँमा नागरिक आरोग्य केन्द्र समेत स्थापना भईसकेका चन्दले बताए । जिल्लाको पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा आएका छन् भने चालु आर्थिक बर्षमै एक अर्को ठाउँमा पनि नागरिक आरोग्य केन्द्र स्थापनाको तयारी भईरहेको चन्दले बताए ।
जिल्लाको शाहीलेक र मुस्याचोरमा आयुर्वेद औषधालय सञ्चालनमा रहेका छन् भने पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आयुर्वेद शाखा छुट्टै सञ्चालनमा रहेको बताइएको छ ।
आयुर्वेद उपचार पद्दतिमा नागरिकको पहुँच बढ्दै गएको दशरथचन्द नगरपालिकाको आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । विभिन्न रोगहरु निको पार्न आयुर्वेद उपचार पद्दति राम्रो रहेको कलौनीले बताए । उनले भने ‘आयुर्वेद औषधिहरु अन्य असरहरु नहुने भएकाले अहिले यसमा नागरिकको आकर्षण बढेको छ ।’
बाथव्याधी लगायतका रोगहरुमा आयुर्वेद उपचार पद्दति राम्रो रहेको कलौनीले बताए । यस्तै पायल्स,दम लगायतका रोगहरुको पनि आयुर्वेद उपचार पद्दतिबाट निदान गर्न सकिने उनले बताए ।
यस्तै योग पनि आयुर्वेद उपचार पद्दतिकै एक शाखा भएको उनले बताए । विभिन्न रोगहरुबाट बच्न र लागेका रोगहरु निको पार्न योग अचुक औषधि जस्तै भएको कलौनीले बताए ।




