Sagun Khabar
बैतडीका चार पालिकामा खोरेत रोगको प्रकोप, पशुहरुलाई खोप लगाइँदै 

बैतडी –बैतडीका विभिन्न स्थानमा घरपालुवा पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको छ । गाई, भैंसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरहरुमा खोरेत रोगको प्रकोप देखिएको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए । 

जिल्लाको पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको पन्तले बताए । 

भाइरसका कारण घरपालुवा पशुहरुमा लाग्ने रोगका कारण पशुहरु मर्ने समेत गरेका छन् । पशुहरुमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने लगायतका लक्षण देखा पर्दछन् । यो रोग भाइरसबाट हुने पशु प्राविधिकहरुले बताएका छन् । 

खोरेत रोग देखा परेका ठाउँमा खोरेत रोग विरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको विज्ञ केन्द्रका प्रमुख पन्तले बताए । अहिले गाउँगाउँमा पुगेर प्राविधिकहरुले खोप लगाउन थालेका उनले बताए । 

खोरेत रोग फैलिएका ठाउँमा अन्य पशुहरुलाई खोरेत रोग नलागोस भनेर खोप दिइने गरेको उनले बताए । भेटरनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोरेत रोग विरुद्ध खोप निशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकहरुले खोप लगाउने काम गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update