बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मा चितुवाले घरपालुवा पशु खान थालेपछि किसानहरु चिन्तित बनेका छन् । गएको १५ दिन यता मात्रै लगभग २५ जति बाख्रा चितुवाले खाईसकेको सुर्नया गाउँपालिका वडा नं ढोलेका स्थानीय तेजन बोहराले बताए ।
रातिको समयमा गोठबाटै चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि किसानहरु समस्यामा परेका उनले बताए ।
चारपाँच ओटा चितुवा बथान सहित आउने गरेको विक्रम लुहारले बताए । नजिकैको ढोले जंगलबाट गाउँमा चितुवा पसेका उनले बताए । लगातार जसो चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीयबासीहरुमा त्रास फैलिएको उनले बताए ।
यस्तै सुर्नया गाउँपालिका वडा नं ४ मा पनि चितुवाले घरपालुवा जनावर खान थालेको स्थानीय गणेश भाटले बताए ।
सुर्नयाका विभिन्न स्थानमा चितुवाले आतंक मच्चाएपछि चितुवा नियन्त्रणका उपायका बारेमा सरकारले सोच्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।




