Sagun Khabar
पाटन नगरपालिकाले गठन गर्यो बिषयगत समिति, को को बने संयोजक ? 

बैतडी –बैतडीको पाटन नगरपालिकाले बिषयगत समितिहरुलाई पूर्णता दिएको छ । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले बिषयगत समितिहरुलाई पूर्णता दिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । 

पाटन नगरपालिकाको न्यायिक समितिमा उपप्रमुख बोहरा संयोजक रहने गरी दुई जना सदस्य राखिएको छ । जसमा रमेशराम कोली र जयन्ती भाट बिजले सदस्य रहेका छन् । 

यस्तै उपप्रमुख बोहराकै संयोजकत्वमा स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ । यसैगरी नगर प्रमुख गौरीसिंह रावल संयोजक रहने श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले पनि पूर्णता पाएको छ । यस्तै उपप्रमुख कमलसिंह बोहरा संयोजक रहने बजेट कार्यक्रम तर्जुमा समितिले पनि पूर्णता पाएको छ । 

यस्तै विधेयक समितिको संयोजकमा ललितबहादुर चन्द, सामाजिक विकास समितिको संयोजकमा हरिश बिष्ट, आर्थिक विकास समितिको संयोजकमा धनबहादुर कुँवर, पूर्वाधार विकास समितिको संयोजकमा फुनिसिंह बोहरा, सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा तर्कसिंह ठगुन्ना र वन,वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा महेशप्रसाद पन्तलाई राखिएको छ । 

यसैगरी नगरकार्यपालिका बैठकले नगर शिक्षा समितिलाई पनि पूर्णता दिएको छ । नगरप्रमुख रावल संयोजक रहेको शिक्षा समितिमा उपप्रमुख बोहरा, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति संयोजक, राजेन्द्रसिंह बिष्ट र जयन्ती भाट बिजले सदस्य रहेका छन् । 

यस्तै नगर प्रमुख रावलकै संयोजकत्वमा स्थानीय विपद् व्यवस्थापन समिति पनि गठन गरिएको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । 

यस्तै पाटन नगरपालिकाका विभिन्न बजार क्षेत्रमा रहेका खोका छाप्राहरुलाई व्यवस्थापन गर्न खोक छाप्रा व्यवस्थापन समिति गठन गरिएको छ । नगर उपप्रमुख कमलसिंह बोहराको संयोजकत्वमा समिति गठन गरिएको हो । 

यस्तै नगरकार्यपालिकाको बैठकले अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई आगामी आर्थिक बर्षदेखि अवकाश दिन विद्यालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । यस्तै विद्यालयको प्रधानाध्यापकमा स्थायी शिक्षक मात्रै राख्न पाउने व्यवस्था गरेको छ ।  
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update