बैतडी –बैतडीको पाटन नगरपालिका ४ ठाँडस्थित भुमेश्वर माविमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ । विद्यालयमा आउने खानेपानीको जीर्ण भएको र मूहानमै पानी कम भएपछि विद्यार्थीहरुलाई खानेपानीको निकै समस्या भएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताए ।
सुख्खायाममा जहिले पनि खानेपानीको अभाव हुने गरेको प्रधानाध्यापक चन्दले बताए । पानीको अभावमा विद्यार्थीहरुले पानी खोज्न बाहिर जानुपर्ने अवस्था रही आएको उनले बताए । उनले भने ‘विद्यालयमा खानेपानीको निकै समस्या रहेको छ । खानेपानीका लागि विद्यार्थीहरुले यताउता भौतारिनुपरीरहेको छ ।’
पानीकै अभावमा विद्यालयमा भएका शौचालयहरु पनि प्रयोगविहिन रहेका प्रधानाध्यापक चन्दले बताए । विद्यालयमा भएका तीन मध्ये दुई शौचालय बन्द रहेका उनले बताए । एक शौचालयका लागि कार्यालय सहयोगीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।
विद्यालयमा पानीको अभाव हुँदा पठनपाठन कार्य समेत समस्या हुने गरेको प्रधानाध्यापक चन्दले बताए ।
विद्यालयमा खानेपानी समस्या समाधानका लागि वडा कार्यालयका तर्फबाट गर्न सकिने पहल गरिने पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दीपकसिंह बिष्टले बताए । तर मूहान नहुँदा विद्यालयमा पानी ल्याउन कठीन भएको उनले सुनाए । लिफ्टिङ प्रणालीबाट विद्यालयमा पानीको व्यवस्थापन गर्न सकिने उनले बताए ।




