बैतडी –बैतडीको मेलौलीका एकजनाले उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिईरहेको खुलेको छ । मेलौली नगरपालिका ७ की सुन्दरा ठकुरानीले जन्ममिति आँफै बढाएर सामाजिक सुरक्षा भत्ता लिईरहेको खुलेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
ठकुरानीको जन्ममिति २०१५ साल भएकोमा त्यसलाई आँफैले विस २००५ बनाएर वृद्धभत्ता बुझिरहेको पाइएको भारतीले बताए । उनले २०७६ सालदेखि वृद्धभत्ता बुझ्दै आएको खुलेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनका क्रममा नागरिकता केरमेटगरी जन्ममिति आफूखुसी परिवर्तन गरेको पाइएको हो । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनका क्रममा दर्ता अधिकारीले सोध्दा उल्टै दर्ता अधिकारीमाथि अभद्र व्यवहार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दर्ता अधिकारीमाथि अभद्र व्यवहार गर्ने मेलौली ७ का सुन्दरा ठकुरानीसहित हर्ष बहादुर चन्द, सुरेन्द्र बहादुर चन्द र हरी चन्दलाई २४ घण्टाभित्रै जिल्ला प्रशासन कार्यालयामा नागरिकताको सक्कल प्रमाणपत्रसहित उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई आदेश जारी दिएको छ ।
यसअघि जिल्लाको डिलाशैनी गाउँपालिकाका १३ जना र दोगडाकेदार गाउँपालिकाका एक जना गरी १४ जनाले उमेर बढाएर भत्ता लिईरहेको खुलासा भएको थियो । यसरी भत्ता लिनेहरुमाथि कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




