बैतडी –बहुउपयोगी राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउने नागरिकको संख्या बैतडीमा बढ्दै गएको छ । जिल्लाका स्थानीय तहहरुमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने अभियान सञ्चालन भएपछि राष्ट्रिय परिचय पत्र बनाउन इच्छुक नागरिकको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्लामा अहिले सम्म ७४ हजार ९५ जनाको विवरण संकलन भईसकेको सूचना अधिकारी भारतीले बताए । जिल्लाका १० ओटा स्थानीय तह मध्ये ६ ओटामा विवरण संकलनको काम सम्पन्न भएको छ ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान अन्तर्गत डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा विवरणको संकलनको काम सकिएको छ ।
यस्तै मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भईरहेको सूचना अधिकारी भारतीले बताए । बाँकी रहेका तीन स्थानीय तहमा विवरण संकलनको काम सकिएपछि दशरथचन्द नगरपालिकामा विवरण संकलन अभियान सञ्चालन हुने बताइएको छ ।
विवरण संकलन भएका स्थानीय तहमध्ये सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १४ हजार २८४ जनाको विवरण संकलन भएको छ । यस्तै पाटन नगरपालिकामा १२ हजार ११७ जना, दोगडाकेदार गाउँपालिकामा ९ हजार ३०८, डिलाशैनी गाउँपालिकामा ८ हजार ३९६, सिगास गाउँपालिकामा ७ हजार २९६, सुर्नया गाउँपालिकामा ६ हजार ७२८ र मेलौली नगरपालिकामा ७ हजार ४४ जनाको विवरण संकलन भएको छ ।
शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विवरण संकलन भर्खर शुरु भएको सूचना अधिकारी भारतीले बताए । जैविक विवरण सहितको राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले सबैलाई नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेको छ । अहिले सम्म जिल्लामा ६९.२ प्रतिशत नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन भएको बताइएको छ ।




