Sagun Khabar
बैतडीका तीन ठाउँबाट फोटो सहितको मतदाता नामावली संकलन शुरु 

बैतडी –निर्वाचन आयोगको देशव्यापी कार्यक्रम अनुसार बैतडीमा फोटो सहितको मतादाता नामावली संकलन कार्य शुरु भएको छ । बुधबारदेखि जिल्लामा पनि फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु भएको जिल्ला निर्वाचन कार्यालयका कम्पयुटर अपरेटर तर्कराज जोशीले बताए । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटो सहित मतदाता नामावली संकलन कार्य शुरु भएको उनले बताए । 

आगामी संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर राखेर फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको बताइएको छ । १६ बर्ष उमेर पुगेका नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । 

१६ बर्षमै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेपनि मताधिकार भने १८ बर्ष पूरा भएका नागरिकले पाउनेछन् । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइसराई गरेर आएकाहरुको हकमा बसाइसराईको प्रमाणपत्र आवश्यक पर्ने जोशीले बताए । 

यस्तै जिल्ला बाहिरका नागरिकले पनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाइएको छ । 

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिनेछ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update