बैतडी –सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि खानेपानीको समस्या भएको स्थानीयबासीहरुले बताएका छन् ।
खोड्पे बजारमा सिद्धेश्वर खानेपानी उपभोक्ता समितिले लिफ्टिङ प्रणाली मार्फत खानेपानीको आपूर्ती गर्दै आएको भएपनि विद्युत लाइनमा खराबी हुँदा खानेपानी सञ्चालन हुन नसकेको खानेपानी उपभोक्ता समितिका सचिव मोहन बिष्टले बताए ।
खानेपानीको हाहाकार हुँदा खोडपेका होटेल व्यवसायी, कार्यालय, यात्रुहरुलाई समेत समस्या हुने भएको छ । खानेपानीको आपूर्ती बन्द भएपछि होटेल चलाउन निकै मुस्किल भएको होटेल व्यवसायी सन्तोष राईले बताए । उनले भने, ‘खानेपानी नभएकै कारणले चार दिनदेखि होटेलको व्यापार सुस्त रहेको छ । आउने ग्राहकहरुलाई पानी दिन सकिएको छैन् ।’
खोड्पेमा देखिएको खानेपानीे समस्या समाधानका लागि पहल भइरहेको पाटन नगरपालिका– ८ का वडाध्यक्ष हरिश बिष्टले बताए । उनले भने, ‘विद्युतीय समस्याका कारण खानेपानी बन्द भएको हो । कम भोल्टेजको विद्युत् प्रवाह भइरहेको हुनाले मोटरले काम गरेको छैन । विद्युत् वितरण केन्द्रलाई खबर गरेका छौं, प्रविधिक टोली आएर मर्मत गरिरहेकाले छिट्टै समाधान हुन्छ ।’
यसैबीच खोडपेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको छ । पाँच दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन थालिएको हो । दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पाटन–८ का वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए ।




