Sagun Khabar
आफूखुसी जन्ममिति बढाएर भत्ता लिने बैतडीका १५ जनामाथि कानुनी कारवाही शुरु 

बैतडी –नागरिकता प्रमाणपत्रमा आफूखुसी जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका १५ जनामाथि कानुनी कारवाहीको प्रक्रिया शुरु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिकाका १३ जना, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकाका एक÷एक जनाले आफूखुसी जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको अहिले सम्म फेला परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

नागरिकतामा केरमेट गरेर आफूखुसी जन्ममिति बढाएकाहरुले कम्तीमा ३ बर्षदेखि बढीमा २७ बर्ष सम्म सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ । 

राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि टोली वडामा खटिएका बेला र जिल्ला प्रशासन कार्यालयमा आएको गुनासोको आधारमा छानबीन गर्दा अहिले सम्म १५ जनाले गैरकानुनी रुपमा भत्ता बुझ्दै आएको पाइएको सूचना अधिकारी भारतीले बताए । 

जन्ममिति बढाएर भत्ता लिने विरुद्ध कानुन अनुसार कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार समेत गरिसकिएको छ । यसरी भत्ता बुझेकाहरुले सम्बन्धित पालिकामा भत्ता बुझे भन्दा दोब्बर तिर्नुपर्ने भएको छ । भत्ता बुझे बाफतको रकमको दोब्बर पालिकालाई फिर्ता गरेको भौचर सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सूचना अधिकारी भारतीले बताए । 

यस्तै नागरिकतामा आफूखुसी जन्ममिति बढाएकाले उनीहरुमाथि नागरिकता ऐन २०६३ अनुसार पनि कारवाही हुनेछ । ऐनको दफा २१ को उपदफा ४ बमोजिम ३ महिना कैद, १० हजार जरीवाना वा दुवै सजाय हुन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका अन्य ठाउँमा पनि यसरी जन्ममिति बढाएर भत्ता बुझेको हुन सक्ने भन्दै अनुसन्धान थालिएको सूचना अधिकारी भारतीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update