Sagun Khabar
सुर्नया नदीको पानी लिफ्ट गरेर पाटन बजारमा, खानेपानी समस्या हट्ने 

बैतडी –बैतडीको पाटनमा स्थानीयबासीको बर्षौंदेखिको खानेपानी समस्या समाधान हुने भएको छ । १३ करोडको लागतमा पाटन बृहत खानेपानी योजना सम्पन्न भएसंगै पाटनबासीको खानेपानीमा सहज पहुँच पुग्ने भएको छ । सुर्नया नदीबाट लिफ्ट गरेर पाटन बजारमा खानेपानी पुग्पछि स्थानीयबासी खुसी समेत भएका छन् । बर्षौंदेखिको आफूहरुको खानेपानी सपना पूरा भएको स्थानीय केशव खत्रीले बताए । 

सरकारले एक दशक अघि घोषणा गरेका १० ओटा नयाँ शहर मध्येको दशौं शहर पाटनमा खानेपानीको निकै समस्या थियो । सुर्नया नदीको पानी लिफ्ट गरेर पाटनमा पुर्याएपछि अब खानेपानी समस्या समाधान भएको पाटन बृहत खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष छविराज जोशीले बताए । पाटनमा खानेपानीका ६४४ वटा धारामार्फत पानी वितरण गरिने उनले बताए । 

खानेपानी निर्माणसँगै बजार क्षेत्रको लाइन विस्तारको काम भइरहेको जोशीले बताए । सुर्नया नदीबाट पानी तान्न २५ हर्स पावरका दुईवटा मोटर जडान गरिएको छ । खानेपानी भण्डार, निर्मलीकरण र वितरण गरेर पाँचवटा ट्याङ्की निर्माण गरिएको छ ।

८० हजार लिटरको एक ट्याङ्की, ६० हजार लिटरको दुईवटा र ५० हजार र ४० हजार लिटरका एक÷एक गरी जम्मा पाँचवटा ट्याङ्की निर्माण भएका निर्माण व्यवसायी दानसिंह रावलले बताए । ठेक्का मार्फत हुने सबै काम पूरा भईसकेको उनले बताए । खानेपानी आयोजनाको कार्यालय र सुरक्षा गार्ड बस्ने घर र बाटोको काम पनि सम्पन्न भएको जनाइएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय महेन्द्रनगर मार्फत पाटन बृहत खानेपानी योजना सम्पन्न भएको बताइएको छ । खानेपानी योजना सम्पन्न भएसंगै पाटन बजार र आसपासका गाउँमा खानेपानीको समस्या समाधान भएको स्थानीय राकेश जोशीले बताए । 

केही दिनभित्रै लाइन बिस्तार गरेर खानेपानी वितरण गर्ने तयारी भइरहेको उपभोक्ता समिति अध्यक्ष जोशीले बताए । पानी उपभोग गर्नेहरुको घरमा धारा र मिटर जडान गरिने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update