बैतडी –बैतडीको सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत निजीश्रोत शिक्षकहरुले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । सामुदायिक विद्यालय निजीश्रोत शिक्षक संघर्ष समितिले आज गाउँपालिका अध्यक्ष हरिसिंह धामीलाई ज्ञापन पत्र बुझाएको हो ।
गाउँपालिका अध्यक्षलाई बुझाएको चार बुँदे ज्ञापन पत्रमा सामुदायिक विद्यालयमा कार्यरत निजीश्रोतका शिक्षकहरुको समय सापेक्ष तलब वृद्धि हुनुपर्ने, अन्य शिक्षक सरह चाडपर्व र पोशाक भत्ता दिनुपर्ने, सिगास स्वयंसेवक शिक्षकहरुलाई पालिका शिक्षक नामाकरण गर्नुपर्ने माग राखिएको छ । यस्तै आवश्यकता अनुसार शिक्षकहरुको सुविधा वृद्धि हुनुपर्ने माग राखिएको सामुदायिक विद्यालय निजीश्रोत शिक्षक संघर्ष समितिकी अध्यक्ष लक्ष्मी शाह चन्दले बताइन् ।
संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले शिक्षकहरुका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।




