बैतडी –गएको कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण सेती नदीमा आएको बाढीले पुल बगाएपछि बैतडी र डोटीका स्थानीयहरुलाई समस्या भएको छ । डोटीको आदर्श गाउँपालिका र बैतडीको सिगास गाउँपालिका जोड्ने पुल बगाएपछि अहिले काठेपुलको साहारमा आवतजावत गर्नुपरीरहेको छ ।
काठेपुलबाट खसेर बिहीबार मात्रै डोटीकी एक किशोरीको मृत्यु भएपछि अहिले आवतजावत गर्न निकै समस्या भएको सिगास ६ का स्थानीय पदम खडायतले बताए । डोटीको आदर्श गाउँपालिकाको बबिना र बैतडीको सिगास गाउँपालिकाको वडा नं ६ र ७ जोड्ने पुल बाढीले बगाएपछि काठेपुल निर्माण गरिएको थियो ।
डोटी र बैतडीको सीमा क्षेत्रमा दुवै जिल्लाका नागरिकहरु यताउता जाने गर्दछन् । खेतीपातीका लागि समेत डोटी र बैतडी दुवै तर्फ दुवै जिल्लाका नागरिक आउने जाने गरेको भएपनि पुल नहुँदा समस्या भएको खडायतले बताए ।
बबिना गाउँका अधिकांश बालबालिकाहरु बैतडीको सिगास गाउँपालिका ६ स्थित गणेश माविमा अध्ययन गर्न आउने भएपनि अहिले पुल नभएकै कारण बालबालिकाहरु टाढाको विद्यालय जान बाध्य भएका खडायतले बताए ।
सेती नदीको बाढीले पुल बगाएको बर्ष दिन पुग्नै लाग्दा समेत कसैको ध्यान जान नसकेको स्थानीयहरुको गुनासो रही आएको छ । बाढी प्रभावित क्षेत्रमा स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमण गरेको भएपनि प्रभावितहरुले अहिले सम्म राहत पाउन सकेका छैनन् ।
सेती नदीमा पुल नहुँदा आफूहरुलाई धेरै समस्या भएको स्थानीयहरुले पुल निर्माणका लागि माग गरेका छन् । पुल नभएकै कारण स्थानीयहरुले अकालमा ज्यान गुमाउनु परीरहेको भन्दै सरकारसंग पुल बनाइदिन माग गरेको खडायतले बताए ।




