बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले पोषण नमूना टोलमा हजार दिने आमाहरुलाई कुखुराका चल्ला वितरण गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रम अनुसार हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि प्रति परिवार ५ चल्लाका दरले ८० परिवारलाई चल्ला वितरण गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । डिलाशैनी गाउँपालिका वडा नं ३ को पङसेरा टोलका हजार दिने आमाहरुलाई चल्ला वितरण गरिएको हो ।
हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणमा ध्यान दिनुपर्दछ भन्ने कुराको जानकारी दिन र उनीहरुको कुखुराको अण्डा र मासुमा पहुँच पुर्याउन चल्ला वितरण गरिएको उनले बताए ।
हजार दिने आमाहरुलाई चल्ला वितरण गर्दै आमा र बालबालिकाको पोषणमा ध्यान दिन समेत प्रवक्ता भट्टले जोड दिए । कुखुराको अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यो कुराको समेत जानकारी दिन पालिकाले कुखुराका चल्ला वितरण गरेको हो ।
गाउँपालिकाको कृषि तथा पशु स्वास्थ्य शाखा मार्फत हजार दिने आमाहरुलाई कुुखुराको चल्ला वितरण गरिएको बताइएको छ । आगामी आर्थिक बर्षमा पनि यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिइने प्रवक्ता भट्टले बताए ।




