बैतडी –महिला सशक्तीकरणका लागि रुडेस संस्थाले बैतडीको पाटन नगरपालिकासंग सहकार्य गर्ने भएको छ । अक्सफाम नेपालको सहयोगमा सञ्चालनमा रहेको ग्रीन परियोजना मार्फत महिला सशक्तीकरणका लागि नगरपालिकासंग मिलेर काम गर्ने रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र योजना बनाइरहेका बेला रुडेसले सहकार्य गर्न सक्ने क्षेत्रका बिषयमा नगरपालिकासंग छलफल गरेको छ । शनिबार सम्पन्न छलफलमा महिलाको आर्थिक उपार्जनमा सहभागिता सहित उनीहरुको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गर्न सकिने रुडेसका कार्यक्रम संयोजक गोपाल भाटले बताए ।
समूह, सहकारी तथा कृषि क्षेत्रमा सहयोग गरेर महिलाको सशक्तीकरणमा सहयोग पुर्याइनेछ भने उनीहरुको नेतृत्व तहमा पहुँच पुर्याउनका लागि महिला नेतृत्व मञ्च मार्फत समेत काम भईरहेको छ ।
कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले रुडेसले नगरपालिकासंग मिलेर काम गर्ने प्रस्ताव गरेको र यसले नगरपालिकालाई फाइदा हुने बताए । सहकार्य मार्फत महिला सशक्तीकरण गर्ने कुरा निकै सकारात्मक रहेको उनले बताए ।




