Sagun Khabar
बैतडीमा अझै ३० हजार बढी पाठ्यपुस्तक अपुग 

बैतडी –शैक्षिक सत्र शुरु भएको एक महिना भन्दा बढी भइसक्दा समेत बैतडीका विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव कायमै रहेको छ । कुनै कक्षाका पाठ्यपुस्तक पुगेपनि कुनै कक्षाका पाठ्यपुस्तक भने अझै पुग्न नसकेका विद्यालयहरुले जनाएका छन् । बैतडीका सामुदायिक विद्यालयहरुमा ८३ हजार पाठ्यपुस्तक आवश्यक भएपनि अहिले सम्म ५० हजार पाठ्यपुस्तक जिल्लामा आइपुगेको बताइएको छ ।

पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अघि बढाउन मुस्किल भएको सिद्धनाथ मावि सिलंगाका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । उनले भने ‘जहिले पनि पाठ्यपुस्तक अभावले पठनपाठनमा समस्या हुने गरेको छ । शैक्षिक सत्र शुरु भएपछि मात्रै पाठ्यपुस्तकको सोधीखोजी गर्ने बानी छ । यसले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा प्रभाव पारेको छ ।’

पाठ्यपुस्तक नहुँदा विद्यालयमा विद्यार्थीहरु उपस्थित हुन छाडेको कृष्ण मावि पाटनका प्रधानाध्यापक विरेन्द्रसिंह केसीले बताए । उनले भने ‘पाठ्यपुस्तकको अभावमा विद्यार्थीहरु विद्यालय आउन मान्दैनन् । समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा धेरै समस्या भएको छ ।’

जिल्लामा ६० प्रतिशत बढी पाठ्यपुस्तक पुगिसकेको र बाँकी एक हप्ताभित्रै आउन सक्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । चुनावका कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको आफूहरुलाई जानकारी आएको उनले बताए । 

बैतडीमा ५ सय ४० सामुदायिक विद्यालयहरु रहेका छन् । सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा पठनपाठन कार्य अघि बढाउन समस्या भइरहेको विद्यालयहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update