Sagun Khabar
बैतडीको दशरथचन्दमा अब विद्युतीय भुक्तानी 

बैतडी —बैतडीको दशरथचन्द नगरपालिकामा विद्युतीय भुक्तानी शुरु भएको छ । ‘केस लेस’को अवधारणा अन्तर्गत नगरपालिकाले विद्युतीय भुक्तानी शुरु गरेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले बताए । 

आइतबारबाट विद्युतीय भुक्तानी सेवा शुरु गर्दै दशरथचन्द नगरपालिका विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको छ । यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौं स्थानीय तह दशरथचन्द नगरपालिका बनेको लेखापाल चन्दले बताए । 

विद्युतीय भुक्तानी प्रणाली शुरु भएपछि अब सेवाग्राहीहरुलाई समेत सजिलो हुने भएको छ । चेक मार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब त्यसो नहुने लेखापाल चन्दले बताए । अब नगरपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुने बताइएको छ । 

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा दशरथचन्दले असारमै विद्युतीय भुक्तानी शुरु गरेको हो । सुत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने बिषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका स्थानीय तहका लेखापालहरुलाई ३ दिने तालिम दिएको थियो । तालिम सकिएकै दिन आइतबारबाट दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी प्रणाली शुरु गरेको हो । 

विद्युतीय भुक्तानी शुरु भएसंगै उपभोक्ताहरुले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । 

विद्युतीय प्रणाली मार्फत हुने भुक्तानीले सेवा सहजताका साथै सुशासन कायम गर्न सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका लेखा अधिकृत उद्धवदेव भट्टले बताए । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि नगरपालिका धाउनुपर्ने समस्याको अन्त्य भएको उनको भनाई रहेको छ । बित्तीय सुशासन कायम गर्न विद्युतीय भुक्तानी प्रणालीले सहज हुने लेखापाल चन्दले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update