बैतडी –सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टले संघीयता अझै कार्यान्वयन भईनसकेको बताएका छन् । बैतडी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रदेश सांसद भट्टले प्रदेश संरचना अझै संघ शासित संरचनाको रुपमा रहेको बताए । उनले भने ‘संघीयताको कार्यान्वयनको सवालमा विश्वमा सबैभन्दा कमजोर मुलुक भारत हो । त्यहाँ भन्दा हाम्रो यहाँ झन् समस्या रहेको छ ।’
प्रदेश र स्थानीय सरकारलाई स्वायत्त सरकार भनिएपनि अझै पनि यी सरकारहरुले स्वायत्तता प्राप्त नगरेको सांसद भट्टले बताए ।
यस्तै संघीयता आएपछि शिक्षा र स्वास्थ्यमा समस्या देखिएको बताउँदै सांसद भट्टले यसलाई कसरी राम्रो बनाउने भन्ने बिषयमा ध्यान जान नसकेको बताए । देशमा संघीयताको खिचडी मोडेल भएका कारण स्वास्थ्य क्षेत्रमा समस्या देखिएको उनले बताए । उनले भने ‘हामी संघीयताको खिचडी मोडेलमा गयौं । फिक्स मोडेल भएन् । जसका कारण स्वास्थ्य क्षेत्रमा ठूलो समस्या देखिएको छ ।’




