बैतडी –बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनामा मेलौलीमा कार्यक्रमको आयोजना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए । दिवसको अवसरमा योगको महत्वका बारेमा जानकारी दिनुका साथै विभिन्न योगहरु गरिएको उनले बताए ।
पछिल्लो समयमा योगप्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ । योगले मानिसका विभिन्न समस्याहरु समाधान गर्ने भएकाले मानव जीवनमा योगको ठूलो महत्व रहेको दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । उनले भने ‘योगले मानिसलाई मानसिक शान्ति समेत दिने गरेको छ ।’
यस्तै अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बैतडीको देहीमाण्डौंस्थित निङ्गलाशैनी माविका विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षाका बारेमा जानकारी दिइएको छ । आयुर्वेद औषधालय मुस्याचोरको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको औषधालयका प्रमुख राजेन्द्रकान्त दयालले बताए ।
आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ । तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र अध्यात्मिकतामा महत्व दिँदै आएको छ ।




