बैतडी- बैतडीमा कालाजारबाट जोगिन व्यक्तिगत र वातारणीय सरसफाइमा बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । कालाजार एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।
रोग सार्ने भुसुना अँध्यारो र फोहोर ठाउँमा बस्ने हुनाले घरवरपर सरसफाइ गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यसबाट बच्नका लागि साँझ परेपछि घरबाहिर बस्दा हातखुट्टासहित पूरा शरीर ढाक्ने कपडा लगाउने, घरगोठमा भएका मुसाका प्वाल र भित्तामा भएका चिरा हरूलाई लिपपोत गरी राम्रोसँग टाल्न स्वास्थ्यकर्मीहरुले सबैलाइ आग्रह गरेका छन् ।
कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने गरेका स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । वनजंगलमा घाँस, दाउरा गर्न जाँदा, खेतबारीमा काम गर्दा, ताल तथा नदीकिनारमा माछा मार्दा भुसुनाको टोकाइबाट जोगिनुपर्ने भन्दै स्वास्थ्यकिर्मीहरुले दैनिक खानपान, जीवनशैली र व्यवहारमा पनि संयमता अपनाउनुपर्नेमा जोड दिए ।
बैतडीमा चालु आर्थिक बर्षको अहिले सम्म ८ जनामा कालाजारको संक्रमण देखिएको छ । अहिले सम्म दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक÷एक जनामा कालाजार देखिएको हो । कालाजार देखिएका मध्ये शिवनाथका एकजनाको केही महिना पहिला मृत्यु भएको थियो ।




