Sagun Khabar
बैतडीका कुन पालिकाको कति बजेट ?

बैतडी – बैतडीका स्थानीय सरकारहरुले आगामी आर्थिक बर्षका लागि निती तथा कार्यक्रम र बजेट ल्याएका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आ.ब. २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ५ अर्ब ३५ लाख ३० हजार रुपैंया बराबरको बजेट ल्याएका छन् ।  शुक्रबार सम्पन्न नगरसभा तथा गाउँसभाबाट स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकता दिएका छन् । 

जिल्लाका सिगास गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि सडक र विद्युतलाई प्राथमिकतामा राख्दै ४४ करोड ५० लाख २२ हजारको बजेट ल्याएको छ । नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाभित्रका जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरेर एमबीबीएस पढाउने, ‘खनौ आफ्नै माटो, छोडौं विदेशको बाटो’ लगायतका कार्यक्रम ल्याएको छ । 

जिल्ला सदरमुकाम समेत रहेको दशरथचन्द नगरपालिकाले ७९ करोड ६० लाख ७९ हजार रुपैंयाको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायतमा प्राथमिकता दिने जनाएको छ । यस्तै नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका नीति तथा कार्यक्रममा समेटिएको छ । 

डिलासैनी गाउँपालिकाले ३६ करोड रुपैंयाको  बजेट सार्वजनिक गर्दै पालिकाको आफ्नै रेडियो खोल्ने, पढ्दै कमाउँदै कार्यक्रममार्फत कृषि कार्यक्रमलाई अघि बढाउने नीति सार्वजनिक गरेको छ ।

पाटन नगरपालिकाले ६४ करोड चार लाख १८ हजार रुपैंयाको  बजेट सार्वजनिक गर्दै कृषकलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषियन्त्र प्रदान गर्ने, सामुदायिक विद्यालयलमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजी शिक्षक र वालविकास शिक्षकको अनुदानमा बृद्धिगर्ने लगायतका कुराहरु निती तथा कार्यक्रममा उल्लेख गरेको छ । 

मेलौली नगरपालिकाले ५९ करोड २२ लाख रुपियाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ ।  शिवनाथ गाउँपालिकाले सडक, अस्पताल र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिनेगरी ३६ करोड ७ लाख ९५ हजार रुपैंयाको बजेट ल्याएको र सोही अनुसारका नीति तथा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

पञ्चेश्वर गाउँपालिकाले ४१ करोड ७८ लाख रुपैंयाको बजेट ल्याएर स्नातक तहसम्मको शिक्षा निःशुल्क गर्ने, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

बैतडीमा सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने, घर नहुने नगरवासीको घर बनाउने र दुई वर्षभित्र पुरचौडी नगरपालिकामा विद्युत पु¥याउने लक्ष्य सहित ६५ करोड चार लाख १८ हजार रुपैंयाको बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधारको विकास गरी समुन्न पुरचौंडी बनाउने निती तथा कार्यक्रममा उल्लेख गरिएको नगर प्रमुख दीपकबहादुर बमले बताए । 

दोगडाकेदार गाउँपालिकाले ६४ करोड  ६२ लाख ८२ हजार बजेटमा कृषि, शिक्षा स्वास्थ्य, युवा स्वरोजगार लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । शिक्षातर्फ उच्च शिक्षा अध्ययन गर्ने दलित परिवारका विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित निर्माणाधिन लवलेक खेलमैदानलाई भागरथी खेलमैदान नामाकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भागरथीको  बलात्कारपछि हत्या गरिएको थियो । 

सुर्नया गाउँपालिकाले ४३ करोड २७ लाख ३४ हजार  बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि, आर्थिक समृद्धिका लागि सुर्नया सरकार कार्यक्रम, उत्पादनलाई बढावा दिन सिचाइँ कुलो निर्माण, बाँझो जग्गाको एकीकृत तथ्याङ्क संकलन गरेर कृषि पकेटक्षेत्र घोषण गरी उत्पादन बढाउने, हरियाली स्चछता कार्यक्रम अन्तर्गत एक घर पाँच फलफूलका विरुवा रोप्ने कार्यलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।  
 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update