बैतडी –बैतडीमा अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको बैठकमा बैतडी,डोटी, बझाङ र डडेल्धुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
बैठकले जिल्लाहरुमा शान्ति सुरक्षाका लागि आपसी सहयोग आदान–प्रदान गर्ने, एक अर्का जिल्लाको असल अभ्यास कार्यान्वयन गर्ने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
यस्तै चारै जिल्लामा रहेका राजमार्गहरुलाई अवरुद्ध हुन नदिन आ –आफ्ना तर्फबाट पहल गर्ने र त्यसका लागि सम्बन्धित निकायहरुसंग समन्वय गर्ने निर्णय समेत भएको छ । भीमदत्त राजमार्ग, डा. के आइ सिंह राजमार्ग, महाकाली राजमार्ग र जयपृथ्वीबहादुर सिंह राजमार्ग बर्षातका बेला अवरुद्ध हुन सक्ने भएकाले ती राजमार्गहरु सुचारुका लागि संयुक्त पहल गर्ने निर्णय समेत भएको छ ।
यस्तै जिल्लाका सीमा नाकाहरुमा नियमित चेकजाँच गरी लागू औषध नियन्त्रण, मानव बेचबिखन रोकथाम लगायतका कार्यमा संयुक्त पहल गर्ने निर्णय भएको छ । यस्तै सार्वजनिक सवारी साधनमा सीट क्षमता भन्दा बढी यात्रु नराख्ने प्रावधनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र मदिरा विक्रि वितरणलाई निश्चित समय तोकि व्यवस्थापन गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।




