बैतडी –बैतडीको पाटनमा बृहत यौनिकता शिक्षा कार्यसमूह पुनर्गठन गरिएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधिहरु आएसंगै कार्यसमूह पुनगर्ठन गरिएको हो । नगरपालिकाको क्षेत्र भित्र बृहत यौनिकता शिक्षाका बारेमा जानकारी दिने, बृहत यौनिकता शिक्षालाई विद्यालयस्तर सम्म विस्तार गर्ने, विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गर्ने, किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाहरु निर्माण गर्न समूहले भूमिका खेल्नेछ ।
पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टको संयोजकत्वमा पुनर्गठन गरिएको समूहमा नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरु सदस्य रहेका छन् । यस्तै विभिन्न सरोकारवाला निकायहरु पनि प्रतिनिधित्व हुने गरेर समूह पुनगर्ठन गरिएको समूहका सदस्य एवं नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक उद्धवदेव भट्टले बताए ।
यस्तै समूहको सल्लाहकारमा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्ट र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीलाई राखिएको छ ।
जिल्लामा बृहत यौनिकता शिक्षाका कार्यक्रमहरुलाई विस्तार गर्नका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा फाया नेपालले सहयोग गर्दै आएको छ ।




