बैतडी –मनसुनको प्रभाव बढ्दै गएका बेला जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै गएको कार्तिकमा अविरल बर्षाका कारण बालीनालीमा क्षति व्यहोरेका परिवारलाई कृषि ज्ञान केन्द्र र भेटरनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र मार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै सिगास गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा विपद् जोखिमको सर्भे गरेको तथ्यांकलाई पुनः रुजु गरी असार २१ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ । मनसुनी बर्षालाई ध्यानमा राखेर यसबाट हुन सक्ने सम्भावित क्षतिहरु न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडकहरु अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजारहरु तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजारहरु सञ्चालन गर्नेहरुको फोन नम्बर सहितको सूची जिल्ला आपतकालिन सञ्चालन केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै विपद्बाट घरवार बिहिन हुन सक्ने परिवारहरुको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहरुले आश्रय स्थलको व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै जिल्ला अन्तर स्थानीय तह समन्वय बैठक गर्ने निर्णय समेत भएको जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले जनाएको छ ।




