Sagun Khabar
बैतडीको दोगडाकेदारले ‘उपाध्यक्षको कोसेली’कार्यक्रमलाई निरन्तरता दिने 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्षमा ‘उपाध्यक्षको कोसेली’कार्यक्रमलाई निरन्तरता दिने भएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । 

गर्भवती तथा सुत्केरी भएको बेला आमालाई थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा घरपरिवारलाई जागरुक बनाउन यो कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । 

यस्तै संस्थागत सुत्केरीको संख्या बढाउन पनि ‘उपाध्यक्षको कोसेली’कार्यक्रमले सहयोग गरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । स्वास्थ्य संस्थामै प्रसुती हुन आउने र नियमित गर्भजाँच गराउने आमालाई कोसेली दिने गरिएकाले संस्थागत सुत्केरीको हुनेको संख्यामा वृद्धि भएको उनले बताए । 

स्वास्थ्य संस्थामै बच्चा जन्माएमा आमा र बच्चा दुवैलाई सहज हुने, मातृमृत्यु र शिशु मृत्यु नहोस भनेर यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

उपाध्यक्षको कोसेलीमा समावेश गरिने सामग्रीमा यो बर्षदेखि केही कुरा थपिने उपाध्यक्ष कार्कीले बताइन् । कोसेली पोषिलो खानेकुराका साथसाथै सरसफाइका सामग्री समेत राख्ने गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update