बैतडी –बैतडीमा विपद् प्रभावितहरुका लागि आश्रय स्थलको पहिचान गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै तहलाई आश्रय स्थलको पहिचान गरी यथाशीघ्र विवरण पठाउन आग्रह गरेको छ ।
जिल्लामा हुन सक्ने सम्भावित विपद्बाट प्रभावित हुन सक्ने परिवार र घरधुरीलाई मध्यनजर गरेर आ–आफ्ना तहमा रहेका अस्थायी आश्रय स्थल पहिचान गरी जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा पठाउन भनिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहज होस भनेर हामीले यस्तो निर्णय गरेका हौं । स्थानीय तहहरुलाई छिट्टै विवरण पठाउन भनेका छौं ।’
स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यस्ता क्षेत्रको पहिचान गर्न भनिएको सूचना अधिकारी भारतीले बताए । विपद्मा परेका नागरिकलाई तत्काल उद्धार गर्न सकियोस भनेर यो कार्य गर्न लागिएको उनको भनाइ छ ।
जिल्लाका सबै स्थानीय तहहरुलाई आश्रय स्थलको पहिचान गरेर तयारी अवस्थामा राख्न समेत आग्रह गरिएको छ । बर्षातको समयमा जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरिएको भारतीले बताए ।




