बैतडी –शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा विभिन्न कार्यक्रमको आयोजना गरेर शहीद दशरथचन्दको १२० औं जन्मजयन्ती मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा उनको जन्मघर बस्कोटस्थित शालिकमा माल्यार्पण गरि श्रद्धाञ्जली सभाको आयोजना गरिएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
यस्तै गढीस्थित शहीद चन्दको शालिकामा पनि जन्मजयन्तीको अवसरमा माल्यार्पण गरिएको थियो । सो कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ), प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यसअघि शहीद चन्दको जन्मजयन्तीको अवसरमा बिहीबार नगरपालिकास्तरीय माविहरुको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । केही दिन अघि मात्रै शहीद चन्दकै जन्मजयन्तीको अवसरमा रोटरी क्लब अफ काष्ठमण्डपले ४ जना विपन्न महिलाहरुलाई सिलाइ मेसिन हस्तान्तरण गरेको थियो ।
दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।
त्यसअघि उनले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गरेका थिए । तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।
पछिल्लो समयमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले शहीद चन्दका बारेमा जानकारी दिनका लागि उनको जन्मघरलाई पाहुना घरको रुपमा विकास गरिरहेको छ । अझै पनि पाहुना घरलाई व्यवस्थित बनाउनका लागि पहल भईरहेको स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।




