बैतडी –बैतडीको गोठलापानीमा बजार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको संयोजकत्वमा शुक्रबार संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीन अधिकारीले बताए ।
बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि गर्ने एक व्यापारीलाई दश हजार जरीवाना गरिएको छ । यस्तै म्याद नाघेका झण्डै दश हजार बराबरका विभिन्न सामग्री बरामद गरी नष्ट गरिएको अधिकारीले बताए ।
गोठलापानी बजारमा ९ हजार ९ सय ५६ रुपैंया बराबरका म्याद नाघेका सामग्री नष्ट गरिएको बताइएको छ । म्याद नाघेका सामग्रीको विक्रि वितरण नहोस, कालोबजारी नहोस भन्ने उद्देश्य सहित बजार अनुमगन गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।
बजारमा दैनिक उपभोग्य सामग्री खरीद गर्दा मिति हेरेर मात्र खरीद गर्न आग्रह गरिएको छ । म्याद नाघेका सामग्रीहरुले मानव स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्ता सामग्रीको विक्रि वितरण र खरीद नगर्न आग्रह गरिएको अधिकारीले बताए ।
जिल्लाका अन्य बजारहरुमा अनुगमन कार्य गरिने संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।




