बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले आगामी बर्षका लागि ६२ करोड ३५ लाख ५९ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बजेटले नयाँ कार्यक्रमको समेटेको दाबी गरे ।
कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको अध्यक्ष जोशीले बताए । कृषि मार्फत गाउँपालिकाबासीहरुलाई आत्मनिर्भर बनाउने किसिमको बजेट ल्याएको उनले बताए । उनले भने ‘हामीले कृषि र पशुपालन क्षेत्रलाई व्यवसायीकरण गरेर नागरिकको आयआर्जनसंग जोड्ने हिसाबले बजेट ल्याएका छौं ।’
यस्तै गाउँपालिकाका दुई ओटा स्वास्थ्यचौकी मार्फत चौबिसै घण्टा सेवा दिने र ती स्वास्थ्यचौकीमा डाक्टरको व्यवस्था गर्ने हिसाबले बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत माध्यमिक विद्यालयमा एक जना स्वास्थ्यकर्मी परिचालन गर्न बजेट विनियोजन गरिएको छ । यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिशेष भत्ता दिने गरेर बजेट विनियोजन भएको बताइएको छ ।
पालिकाभरीका जेष्ठ नागरिकका अनुभव सहित सरकार सञ्चालन गर्ने उद्देश्यले ‘बाजेको अर्ती’ कार्यक्रम, युवा संग अध्यक्ष कार्यक्रम, एफ रेडियो सञ्चालन, शहीद परिवारलाई भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको प्रवक्ता भट्टले बताए ।




