बैतडी –बैतडी सहित सुदूरपश्चिमका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा अवरुद्ध भएको छ । बैतडी, दार्चुला र बझाङमा केही दिनका लागि विद्युतीय राहदानी सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
विद्युतीय राहदानीका लागि सर्भर सञ्चालन गर्ने इन्टरनेट अवरुद्ध हुँदा सेवा पनि अवरुद्ध भएको सूचना अधिकारी भारतीले बताए । इन्टरनेट सेवा प्रदायक संस्था सुबुसुको उपकरणमा समस्या आएपछि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।
यस्तै विद्युतीय राहदानी आइसकेका नागरिकको समेत राहदानी वितरण गर्न सकिएको छैन् । राहदानी वितरणका लागि पनि इन्टरनेट आवश्यक भएकाले समस्या भएको बताइएको छ । विद्युतीय राहदानी सेवा लिने नागरिकलाई फोन गरेर मात्रै आउन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विद्युतीय राहदानी सेवा सुचारु हुन अझै दुई–तीन दिन लाग्न सक्ने बताइएको छ ।




