Sagun Khabar
दशरथचन्दको नगरसभा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरे 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनको भावना विपरीत एकलौटी रुपमा नगरसभा सञ्चालन गरेको आरोप लगाउँदै उपमेयर कौशिला चन्द सहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले नगरसभा बहिष्कार गरेका हुन् ।

आगामी आर्थिक बर्षको बजेटमाथि नगरकार्यपालिकामा छलफल नै नगरी एकलौटी ढंगले नगर प्रमुखले सभामा पेश गर्न खोजेको उपप्रमुख कौशिला चन्दले आरोप लगाइन् । बजेटमाथि घनीभूत रुपमा छलफल हुनुपर्नेमा त्यसो नगरी एकलौटी ढंगले अगाडि बढेपछि आफूहरुले सभा बहिष्कार गरेको उनले बताइन् । उनले भनिन् ‘हामी पनि जनताका प्रतिनिधि हौं । सभामा हाम्रो आवाज सुन्ने प्रयास नभएपछि हामीले सभा बहिष्कार गरेका हौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

बजेटका बिषयमा नगरकार्यपालिकामा छलफल गर्नुपर्ने र त्यसपछि मात्रै सभामा पेश गर्नुपर्ने आफूहरुको मागको बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढेपछि आफूहरुले नगरसभा बहिष्कार गरेको वडा नं ६ का वडा अध्यक्ष महेन्द्रसिंह कार्कीले बताए । उनले भने ‘स्थानीय तहमा प्रतिपक्षको परिकल्पना गरिएको छैन् । तर एकलौटी ढंगले हामीले पेलेर जाने रणनीति लिएपछि हामीले सभा बहिष्कार गरेका हौं ।’

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्दा समेत छलफल नभएको र त्यो बेला आफूहरुले पछि छलफल गर्न आग्रह गरेको वडा अध्यक्ष कार्कीले बताए । 

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेपछि बहुमतले बजेट पारित गर्ने तयारी भएको छ ।  
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update