Sagun Khabar
कहिले मर्मत होला सेला आधारभूत विद्यालयको भवन ? 
तस्बिर : पहिरोले क्षतिग्रस्त सेला आधारभूत विद्यालयको भवन

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ३ स्थित सेला आधारभूत विद्यालयको भवनमा पहिरोले क्षति पुर्याएको एक बर्ष बढी भइसक्दा समेत मर्मत हुन सकेको छैन् । स्थानीयहरुले  जनश्रमदान गरेर २०६७ सालमा स्थापना गरेको सो विद्यालय पहिरोको चपेटामा परेपछि बालबालिकाहरु खुल्लाचौरमा पढ्न बाध्य भएका छन् । 

विद्यालय भवनमाथिबाट खसेको पहिरोले विद्यालयको आँगन समेत बगाएको विद्यालयका प्रधानाध्यापक बीरबहादुर धामीले बताए । उनले भने ‘२०७८ को असारमा खसेको पहिरोले विद्यालय भवनमा क्षति पुर्याएको हो । त्यसयता निरन्तरतर रुपमा पालिकामा निवेदन दियौं तर कसैले सुनुवाई गरेको छैन् ।’

कक्षा १ देखि ३ सम्मको पढाई हुने सो विद्यालयमा पानी नपरेको दिनमात्रै खुलाचौरमा पठनपाठन गर्ने गरिएको छ । पानी परेको दिन पहिरोको जोखिम र खुलाचौरमा बालबालिकाहरुलाई पढ्न समस्या हुने भएकाले विद्यालय बन्द गर्ने गरिएको प्रधानाध्यापक धामीले बताए । उनले भने ‘विद्यालयको दुई कोठे भवन, शौचालय सबैमा पहिरोले क्षति पुर्याएको छ । बालबालिकाहरुलाई समस्या भएको कुरा स्थानीय सरकारलाई पटक पटक अवगत गराएका हौं । तर कसैले चासो दिएको छैन् ।’

Atrya hospital

सेलादेखि डेढघण्टाको दुरीमा मात्रै अर्को विद्यालय छ । सोही समस्यालाई ध्यानमा राखेर गाउँका स–साना नानीहरुलाई पढाउन स्थानीयहरुले मिलेर विद्यालय खोलेका भएपनि भवन समेत पहिरोको चपेटामा परेपछि अहिले निकै समस्या रहेको स्थानीय समेत रहेका पत्रकार ईश्वर बोहराले बताए । उनले भने ‘बालबालिकाहरुको शिक्षा ग्रहण गर्ने अधिकार कुण्ठित हुँदा समेत कसैले चासो दिएको देखिदैन् ।यसमा स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।’

सेला आधारभूत विद्यालयमा अहिले ३५ जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । तर विद्यालय भवन नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुँदै आएको छ । 

स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि विद्यालयको समस्याका बिषयमा जानकारी गराउन बाँकी रहेको प्रधानाध्यापक धामीले बताए । अघिल्लो सरकारलाई पटक पटक विद्यालयको समस्याका बारेमा जानकारी गराएपनि चासो नदिएपछि दिक्क लागेको उनले बताए । 

यता डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले विद्यालयको समस्याका बिषयमा गाउँपालिकामा अहिले सम्म कुनै जानकारी नभएको र अब पालिकाभरी अनुगमन कार्य गरेर समस्या भएका ठाउँमा समाधानको प्रयास गरिने बताए । उनले भने ‘हामीले पालिकाभरी इन्जिनियर सहित अनुगमन गर्ने तयारी गरेका छौं । त्यो बेला विद्यालयको समस्या अध्ययन गरेर समाधान गर्नेछौं ।’
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update